काठमाडौं, १० कार्तिक । आइसीसी ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
वर्षभर भएका प्रतियोगितामा प्रदर्शनका आधारमा छनोट गरिएका ४४ जना खेलाडी मध्येबाट २२ खेलाडी छनोट गरिएको हो । गत मंगलबारदेखि ३ दिनसम्म टियू मैदानमा छनोट प्रतियोगिता भएको थियो । यी २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम टोली घोषणा गरिने छ ।
आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टोलीका प्रशिक्षक सामसन थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टोलीले टिम छनोट गरेको हो ।
नेपाली टोलीका सदस्यहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान सीता रानामगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, शोभा आले, नितू भण्डारी, एलिश क्षेत्री, कविता कुँवर, बिजु बुढामगर, सरस्वती चौधरी, लक्ष्मी चौधरी, रितु कनोजिया, संगीता राई, अञ्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल र सवनम राई छन् ।
आइसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट आउँदो महिना थाइल्याण्डमा हुँदैछ । नेपालसहित चीन, हङकङ, थाइल्याण्ड र युएई रहेको एशियाली क्षेत्रको छनौट प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष नेदरल्याण्ड्समा हुने महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट खेल्न पाउने छ ।
बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौटका लागि छानिइसकेका छन् ।
टी-२० विश्वकप छनोटका लागि २२ नेपाली खेलाडी छनौट
0
Share.
Comments