एजेन्सी, ७ कार्तिक । विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ स्पेनिस क्लब रियल मड्रिड तथा पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डोले प्राप्त गरेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पार्दै अवार्ड जितेका हुन् । उनले उत्कृष्ट खेलाडीका लागि ४३.१६ प्रतिशत मत पाएका थिए । मेस्सीले १९.२५ र नेइमारले ६.९७ प्रतिशत मत पाएका थिए ।
३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले फ्रेञ्च पत्रिकासँगको सहकार्यमा बालोन डि ओर अवार्ड प्रदान गर्ने गरेकोमा पोहोरदेखि उसले त्यो सहकार्य तोडेर फिफा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिन थालेको हो । फ्रेञ्च पत्रिकाले छुट्टै बालोन डि ओर अवार्ड प्रदान गर्ने गर्दछ ।
यस्तै, बार्सिलोनाकी डच स्टार लियके मार्टिन्सले यस वर्षको वेष्ट फिमेल प्लेयरको अवार्ड जितिन् । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा महिला प्रशिक्षकको अवार्ड नेदरल्याण्ड्सकी सरिना वेइगम्यानले पाइन् ।
आर्सनलका ओलिभर जिरोर्डले वर्षको उत्कृष्ठ गोलका लागि दिइने पुसकास अवार्ड हात पारे । जनवरी २०१७ मा क्रिष्टल प्यालेसबिरुद्ध उनको ‘स्कोरपियोन किक’ वर्षकै उत्कृष्ठ गोल ठहरियो ।
बेष्ट गोलकिपर अवार्ड विश्व च्याम्पियन इटली तथा युभेन्टसका लागि १० पटकका सिरी ए च्याम्पियन जियानलुइगी बुफोनाई प्रदान गरियो । यी इटलीका भेट्रान गोलकिपरले युभेन्टसलाई लगातार छैटौं पटक सिरी एको उपाधि दिलाएका थिए भने ६०० मिनेटसम्म च्याम्पियन्स लिगमा गोल खाएका थिएनन् ।
मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो उत्कुष्ट खेलाडी
0
Share.
Comments