एजेन्सी, १० असोज । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका ब्राजिलियन फरवार्ड नेइमारको पारिश्रमिक सार्वजनिक भएको छ । महंगा खेलाडी नेइमारको आम्दानी धेरै हुने पक्का छ । उनले कति कमाउँछन् भन्ने चाहिँ स्पष्ट खुलेको थिएन ।
तर फुटबल लिक्स र डेर स्पिगलले स्पेनिस पत्रिका मार्का मार्फत सार्वजनिक गरेको प्रतिवेदन अनुसार पिएसजीमा नेइमारको आम्दानी महिनाको ३० लाख ६९ हजार ५ सय २० युरो (३७ करोड ९३ लाख ४८हजार ९८ रुपैयाँ) रहेको दाबी गरिएको छ । यसको अर्थ नेइमारले एक घण्टामा चार हजार युरो (४ लाख ९४ हजार ३ सय ४१ रुपैयाँ) तथा एक दिनको एक लाख युरो (१ करोड २३ लाख ५८ हजार ५ सय ४७ रुपैयाँ) कमाउँछन् ।
पिएसजीका स्टार ब्रालिलियन नेइमारले फ्रान्समा नयाँ घर पनि लिएका छन् । उनको घर पिएसजीको प्रशिक्षण केन्द्रबाट ९ किलोमिटर पर छ । उनको यो घरको भाडा महिनाको १४ हजार युरो (१७ लाख २९ हजार ५ सय ५४ रुपैयाँ) रहेको छ ।
नेइमारले पिएसजीमा राम्रो सुरुवात गरेका छन् । उनले अहिलेसम्म पाँच गोल गरेका छन् भने पाँच गोलका लागि सहयोग गरेका छन् । तर पछिल्लो समय उनी लिग वान अन्तर्गत लियोनसँगको खेलमा पेनाल्टी प्रहारका लागि एडिसन काभानीसँग विवाद गरेको विषयले चर्चामा छन् ।
Comments