काठमाडौं, २८ भदौ । मलेसियामा जारी प्रतियोगितामा नेपालको अन्डर १९ टोलीले भुटानको अन्डर १९ टोलीलाई ९ विकेटले पराजित गरेको छ । उन्नाइस वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।
टस जितेर पहिलो ब्याटिङ गर्ने निधो गरेको भुटान मात्र २८ ओभरमा ५० रनमा अलआउट हुन पुगेको थियो । भुटानलाई सस्तोमा समेट्न दीपेन्द्र सिंह ऐरीले ५ तथा सन्दीप लामिछानेले ४ विकेट लिए । भुटानका युग्येन दोर्जीले ४३ बलमा १३ रन साथै टासी फुन्टशोले ६५ बलमा १६ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले मात्र ८.३ ओभरमा मात्र १ विकेट गुमाएर हासिल गरेको हो । नेपाललाई जित दिलाउन मोहमद आसिफ शेखले नटआउट रहँदै २३ रन बनाए । आउट हुनअघि सन्दिप सुनारले २१ रनको योगदान दिए ।
समूह ‘ए’ मा रहेको नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनको अन्तरले हराएको थियो । पहिलो खेलमा भुटान सिंगापुरसँग ९ विकेटले पराजित भएको थियो ।
नेपालले भुटानलाई ९ विकेटले हरायो
0
Share.
Comments