काठमाडौं २ भदौ । रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी पौडीबाज गौरिका सिंहले २०औँ राष्ट्रिय पौडी प्रतियोगिताको पहिलो दिन नै २ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबारदेखि सुरु राष्ट्रिय पौडीमा गौरिकाले ५० मिटर बटरफ्लाई र २ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
यससँगै गौरिकाको व्यक्तिगत स्पर्धामा २९औँ पटक राष्ट्रिय कीर्तिमान बनाउँदै नेपाली पौडीमा आफ्नो बादशाह कायम गर्ने संकेत देखाएकी छन् । गौरिकाले २ राष्ट्रिय कीर्तिमान बनाएपछि आफू थप पदक जित्न उत्साहित भएको बताइन् । जारी राष्ट्रिय पौडीमा उनी ५ विधामा सहभागी जनाएकी छन् ।
गौरिकाले १२औँ दक्षिण एसियाली खेलकुदमा १ रजत र ३ कांस्यपदक जितेकी थिइन् । जुन नेपाली पौडीकै लागि सागमा सर्वोत्कृष्ट नतिजा थियो । त्यसअघि कुनै पनि खेलाडीले व्यक्तिगत स्पर्धामा पदक जित्न सकेका थिएनन् । नेपाल आर्मी क्लबकी गौरिकाले महिला ५० मिटर बटरफ्लाइको हिट्स चरणमा २९ दशमलव ४० सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् ।
गौरिकाले सातौँ राष्ट्रिय खेलकुदमा सोफिया शाहले बनाएको ३२ दशमलव ०६ सेकेन्डको कीर्तिमान तोडिन् । गौरिकाले फाइनलमा भने २९ दशमलव ७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते पनि हिटमै बनाएको रेकेर्डबाट चुकिन् । यस स्पर्धामा एपिएफकी डुवाना लामाले ३७ दशमलव ५३ सेकेन्डका साथ रजत जितिन् । एपिएफकै तेन्जिङ डोमा शेर्पाले ३७ दशमलव ८२ सेकेन्डका साथ कांस्य जितिन् ।
गौरिकाले महिला २ सय मिटर फ्रिस्टाइलको फाइनल चरण २ मिनेट ११ दशमलव ९४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा राष्ट्रिय कीर्तिमान पनि बनाइन् । गौरिकाले १२औँ सागमा सोफिया शाहले बनाएकी २ मिनेट १३ दशमलव ३२ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् । यस स्पर्धामा एपिएफकी डुवाना लामाले २ मिनेट ३३ दशमलव ११ सेकेन्डका साथ रजत र एपिएफकै उपस्थी महर्जनले २ मिनेट ४९ दशमलव ३१ सेकेन्डमा पूरा गर्दै कांस्य जितिन् । पहिलो दिन नै थप २ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । एपिएफका डुवाना लामा र सुभम श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाएका हुन् । डुवानाले महिला २ सय मिटर ब्रेस्टस्ट्रोक र सुभमले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोक राष्ट्रिय कीर्तिमान बनाए ।
सोही विधाको हिट्स चरणमा डुवानाले ३ मिनेट ७ दशमलव २२ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइन् ।तर, फाइनलमा ३ मिनेट ८ दशमलव ३२ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जिते पनि डुवानाले हिटको समय सुधार गर्न सकिनन् । ११ वर्षअघि विविधा रिमालको नाममा रहेको कीर्तिमान डुवानाले भंग गरेकी थिइन् । विविधाले कोलम्बोमा सन् २००६ मा भएको १०औँ सागमा ३ मिनेट १२ दशमलव ८५ सेकेन्डको कीर्तिमान बनाइकी थिइन् । उक्त विधामा उपस्थी महर्जनले रजत र अदिप्सा वैद्यले कांस्य जितिन् । पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएका सुभमले २ मिनेट ३६ दशमलव ७५ सेकेन्डको समय निकाले । किरण कार्कीले २ मिनेट ४२ दशमलव १३ सेकेन्ड समय निकाल्दै रजत जिते ।
Comments