एजेन्सी, ३ असार । फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो ।
विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि आजबाट सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ । प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता, युरोकप विजेता र महादेशीय विजेता राष्ट्रको सहभागिता छ । आयोजक रुससँगै ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले कनफेडेरेसन कप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
आज उद्घाटन खेलमा आयोजक रुस र न्युजिल्याण्डबिच खेल हुनेछ । खेल सेन्ट पिटर्सबर्गमा रहेको रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो प्रतियोगितामा गएको वर्ष युरोकप फुटबलको उपाधि जितेको पोर्चुगललाई बलियो दाबेदार मानिएको छ ।
प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल आउँदो जुलाई २ मा हुनेछ । यसअघि सन् २०१३ मा भएको कनफेडेरेसन कप फुटबलको उपाधि घरेलु टोली ब्राजिलले स्पेनलाई ३–० ले हराएर जितेको थियो ।
फिफा कनफेडेरेशन कप फुटबल आजदेखि सुरु हुँदै
0
Share.
Comments