काठमाडौं, १ असार । नवौं सस्करणको कोकाकोला कप फुटबल प्रतियोगिता असारको चौथो साता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फा, युवा तथा खेलकुद मन्त्रालय र कोकाकोला नेपालको सहकार्यमा सञ्चालन हुन लागेको नवौं सस्करणको कोकाकोला कप फुटबल प्रतियोगिता असार २३ गतेबाट सुरु हुने भएको हो ।
कोकाकोला कप फुटबलको यस संस्करणमा काठमाडौं उपत्यकासहित एन्फाको सदस्य ४५ जिल्लाका विद्यालयहरुको सहभागिता रहने आयोजकले जनाएका छन् । प्रतियोगितामा छात्र तथा छात्रा दुवैको छुट्टै प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगितामा सहभागी विद्यालयहरुलाई तीन चरणमा विभाजन गरिएको छ । जसअन्तर्गत पहिलो चरणमा जिल्ला, दोस्रो चरणमा क्षेत्र र अन्तिम चरणमा राष्ट्रिय प्रतियोगिता हुने छ ।
प्रत्येक जिल्लामा कम्तिमा ३५ विद्यालयको सहभागिता रहने कोकाकोला कपको जिल्ला स्तरीय प्रतियोगिता असार २३ बाट १३ साउनसम्म चल्ने छ । त्यसपछि जिल्लामा छनोट भएका विद्यालयले आफ्नो क्षेत्रमा क्षेत्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् । क्षेत्रिय प्रतियोगिता २९ साउनबाट भदौ ९ गतेसम्म चल्ने छ ।
क्षेत्रमा सफल विद्यालयले २३ भदौबाट असोज १ गतेसम्म चल्ने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन् । छात्र र छात्रा दुवैको विजेताले ३ लाख, उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउने छन् ।
नवौं सस्करणको कोकाकोला कप फुटबल असार २३ गतेबाट
0
Share.
Comments