काठमाडौं, २९ जेठ । सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबलको छनौट अन्तर्गत नेपाली टोलीले भोलि यमनबिरुद्ध खेल्नका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । घोषणा गरिएको टिममा विकेश कुथु, किरण कुमार लिम्बु र एलन न्यौपाने गोलकिपर छन् भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, अदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छन् । यस्तै, मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ, सुनिल बल छन् । फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र बिमल घर्ति मगर छन् ।
छनौट चरणको पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्दैछ र भोलिको खेलमा नेपाल गोल नखाने रणनीतिमा हुनेछ ।
सशस्त्र प्रहरीको हलचोक मैदानमा भोलि ३ बजेदेखि खेल हुनेछ । खेलका लागि यमनको राष्ट्रिय टोली हिजै काठमाडौं आइसकेको छ ।
यमनविरुद्ध खेल्ने नेपाली फुटवल टोलीको घोषणा
0
Share.
Comments