काठमाडौं, २५ जेठ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको बिहीबारको फाइनल वर्षाले रद्ध भएपछि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले उपाधि बाँडेका छन् । आज पानी परेर फाइनल खेल अवरुद्ध भएपछि प्रतियोगिताको उपाधि दुवैले बाँडेका हुन् । दुबै टोलीले पुरस्कार स्वरुप १५–१५ लाख रुपैयाँ पाएका छन् ।
विजेताले पाउने २० लाख रुपैयाँ र उपविजेताले पाउने भनिएको १० लाख जोडेर दुई टोलीलाई पुरस्कार रकम भाग लगाइएको हो ।
त्रिवि क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले दिएको १ सय २७ रनको लक्ष्य आर्मीले पछ्याइरहँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिँदासम्म आर्मीले २ ओभर ३ बलमा १ विकेट गुमाउँदै ७ रन बनाएको थियो ।
यसअघि टस हारेर व्याटिङ गरेको पुलिसले ४५ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । पुलिसका लागि ओपनर सुनील धमलाले ३२ रन, ओपनर अमित श्रेष्ठ ४ रन, दिलिप नाथले पनि ९ रन र दीपेन्द्रसिंह ऐरी १९ रन बनाएका थिए । यस्तै, सागर पुनको बलमा एलबीडब्ल्यूको धरापमा पर्दा कप्तान मञ्जीत श्रष्ठले खाता नै खोल्न सकेनन् । आरिफ शेखले पनि ४ रनमात्र बनाए । पुलिसका लागि अन्तिम क्रमका ब्याट्सम्यानहरु सिद्धान्त लोहनीले २०, कुशल भुर्तेलले १५ र सुशील कँडेलले १२ रन बनाए । पुलिसले अतिरिक्त ११ रन पाएको थियो ।
बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए । त्यस्तै सुशान भारीले ३ र सागर पुनले २ विकेट लिए । सोमपाल कामीले पनि १ विकेट आफ्नो नाममा लेखाए ।
वर्षाले आर्मी र पुलिसले उपाधि बाँडे
0
Share.
Comments