काठमाडौं । एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको छ । वर्षाका कारण दोस्रो इनिङ्सको खेल सम्भव नभएपछि नेपालको यात्रा सेमिफाइनलमै रोकिएको छ । यूएई फाइनलमा प्रवेश गरेको छ ।
नेपालकी अस्मिना कर्माचार्यले पाँच विकेट लिएको खेलमा नेपालले आज यूएईविरुद्ध जितका लागि ८२ रनको लक्ष्य पाएको थियो । तर, इनिङ्स बीचमा वर्षा भएपछि दोस्रो इनिङ्स सुरु हुन सकेन । त्यसकारण यूएईले फाइनलमा स्थान बनायो । नेपालको यात्रामा पूर्णविराम लाग्यो ।
यूएई समूह ‘ए’बाट विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । त्यसकै आधारमा यूएईले फाइनलमा स्थान बनाउन सफल भयो । नेपाल समूह ‘बी’ को उपविजेता भएका कारण प्रतियोगिताबाट बाहिरियो । समूह चरणमा उपविजेता बन्नु नै नेपाल बाहिरिने कारण बन्यो । साथै, वर्षा पनि बाधक बन्यो ।
आज, मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रन बनाएको छ । नेपालकी अस्मिनाले ३.५ ओभरमा १० रन दिएर ५ विकेट लिएकी थिइन् । उनलाई इन्दु बर्माले तीन र सीता रानामगरले दुई विकेट लिएर साथ दिएका थिए ।
यूएईका वैष्णवी महेशले सबैभन्दा धेरै १६ रन बनाइन् । ओपनर इशा रोहितले १५, कप्तान चाया मुघलले १४ र खुशी शर्माले १२ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रकाशित मितिः २०७९ असार १० शुक्रबार
Comments