काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई १ सय १० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १०९ रन बनाएको हो ।
कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३६ बलमा ३२ रन बनाइन् । ओपनर बिन्दू रावलले २३ रन बनाइन् । अप्सरी बेगमले १६ बलमा अविजित रहँदै २२ रन बनाइन् । सातौं विकेटका लागि रुबिना र अप्सरीले अविजित ४४ रनको साझेदारी गरेका थिए ।
नेपाल समूह चरणको अन्तिम खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो । यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा यूएई, ओमान, कतार र सिंगापुर रहेका छन् । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।
प्रकाशित मितिः २०७९ असार ०७ मंगलबार
Comments