काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज शनिबार दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको किनरारा मैदानमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ ।
नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।
कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ ।
च्याम्पियनसिपमा नेपाल समूह ुबीु मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
प्रकाशित मितिः २०७९ असार ०४ शनिबार
Comments