काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भईरहेको त्रिदेशीय सिरिजमा नेपालले ओमानमाथि सहज जित निकालेको छ ।
टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानमाथि ७ विकेटको ति निकालेको हो । जितको लागि १६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले ६२ र कुशल भुर्तेलले ५६, रोहित पौडेलले अविजित २६ र देव खनालले १० रनको योगदान दिए । ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले ५२, सन्दीप गौडले ४७ र जतिन्दर सिंहले २३ रन बनाए ।
नेपालका करण केसीले ५, कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए । यस जितसँगै नेपाल १५ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।
ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । नेपालले ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध आज राति खेल्नेछ ।
प्रकाशित मितिः २०७९ असार १ बुधबार
Comments