काठमाडौं । फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा घाइते भएका एलेक्जेन्डर जेरेभको कुकुच्चामा शल्यक्रिया गर्नुपर्ने भएको छ ।तेस्रो वरीयताका जेरेभको कुर्कुच्चामा चोट लागेपछि फ्रेन्च ओपनको बीचमै खेल छाडेका थिए । जेरेभ रिटायर्ड हर्ट भएपछि फाइनलमा स्थान बनाएका राफेल नाडालले फ्रेन्च ओपनको उपाधि जितेका थिए ।
“मेरो खुट्टाको सबै लिगामेन्टहरु पूर्ण रूपमा ठिक भएर जति सक्दो चाँडो प्रतिस्पर्धामा फर्किनका लागि शल्यक्रिया सबैभन्दा राम्रो विकल्प देखियो,” जेरेभले सामाजिक सञ्जाल इन्टाग्राममा पोस्ट गरेका छन् ।
गएको शुक्रबार फ्रेन्च ओपनको सेमिफाइनलमा दोस्रो सेट ६–६ को स्थितिमा चलिरहँदा जेरेभको दायाँ कुुर्कुच्चामा चोट लागेको थियो । पहिलो सेटमा जेरेभ ७–६ (१०/८) को स्कोरमा पराजित भएका थिए ।
जर्मनीका २५ वर्षीय जेरेभ कहिले कोर्टमा फर्किन सक्छन् भन्ने यकिन छैन । “आजैबाट मेरो रिह्याब सुरु भएको छ । विगतमा भन्दा अझ बलियो भएर फर्किन मेरो तर्फबाट सबै प्रयास गर्नेछु,” जेरेभले भने । घाइते भएपछि जेरेभलाई बैशाखी प्रयोग गर्नुपरेको थियो ।
जेरेभले गएको वर्ष टोकियोमा सम्पन्न ओलम्पिकमा पुरुष एकल स्पर्धामा स्वर्णपदक जितेका थिए । त्यस्तै, सन् २०२० को यूएस ओपनमा जेरेभ उपविजेता बनेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७९ जेठ २५ बुधबार
Comments