काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मुम्बईमा बुधबार राति भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको जितमा रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै राहुल टेवाटियाले अविजित ४० रन जोड्दा राशिद खान ३१ रनमा अविजित रहे । सुबमन गिल २२ र डिभिड मिलर १७ तथा कप्तान हार्दिक पान्डय १० रनमा आउट भए ।
हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो । हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन मार्क्रमले ५६ रनको अर्धशतकीय इनिङ खेले ।
शशांक सिंहले अविजित २५ तथा राहुल त्रिपाठीले १८ रन बनाए । कप्तान केन विलियम्सन ५ रनमा आउट भए । गुजरातका मोहमद शामीले ३ विकेट लिए । यश डायल र अल्जारी जोसेफले १र१ विकेट लिए ।
गुजरातको सातौं जित हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको गुजरातले ८ खेलमा १४ अंक जोडेको छ । गुजरातले पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
यस अघिको भेटमा हैदरावादले गुजरातलाई ८ विकेटले हराएको थियो । हैदरावाद ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७९ बैशाख १५ बिहीबार
Comments