काठमाडौं । पेट्रियोट्स कप अन्तर कलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि गोल्डेनगेट कलेज र ब्लु बर्ड भिड्ने भएका छन । शुक्रबार भएको पहिलो सेमिफाइनलमा ब्लुबर्ड कलेजले एपेक्स कलेजलाई एक सय १९ रनको फराकिलो जित निकालेको छ । टस जितेर पहिला ब्याटिङ गरेको ब्लुबर्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २०७ रन बनाएको थियो । ब्लुबर्डका लागि दिपक डुम्ब्रेले सर्वाधिक ७४ रन बनाए ।
त्यस्तै सचिन लेखक ५४ दुग्रेश क्षेत्री ५० तथा रोनिम तिवारी १० रनमा अविजित रहे । एपेक्स कलेजका चिराग मैनाली, मनिष खाती र कमल भुसालले एक एक विकेट लिए । २०८ रनको लक्ष्य पछ्याएको एपेक्स कलेजले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनायो ।
उसका लागि मनिष खाती २३ जनक सुनार १८ तथा सरोज चन्दले १३ रनको योगदान गरे भने बाँकी खेलाडी सस्तो मै आउट भए । ब्लुबर्डका लागि सुवास खत्री, दुग्रेश क्षेत्री, निर्भिक पाठक र तिलक राजभण्डारीले समान दुई दुई विकेट लिए । खेलको म्यान अफ दि म्याच ब्लुबर्डका दिपक डुम्ब्रे भए ।
अर्को सेमिफाइनलमा गोल्डेन गेटले हिमालयन ह्वाइटहाउस कलेजलाई ६ विकेटले हरायो । पहिले ब्याटिङ गरेको ह्वाइटहाउसले निर्धारीत २० ओभरमा नौं विकेट गुमाउँदै एक सय दुई रन बनायो । उसका लागि शतिश यादवले २१ रन बनाए भने आदर्श झाले १७, निश्चय थापाले १६ तथा रुपेश यादवले १३ रन बनाए ।
बलिङमा गोल्डेन गेटका लागि शुर्य तामाङ र रबी शाले तीन तीन विकेट लिए । जवाफमा गोल्डेन गेटले १४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि त्रितराज दाशले ६१ रन बनाए भने आशुतोष घिरैयाले १६ रन बनाए । बलिङमा ह्वाइटहाउसका लागि आदर्श झाले दुई विकेट लिए । फाइनल खेल शनिबार हुनेछ ।
प्रकाशित मितिः २०७९ बैशाख ०२ शुक्रबार
Comments