काठमाडौं । नेपालले टेष्ट मान्यताप्राप्त अफ्रिकी देश जिम्बाबेको ए टिमसँग तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघले शुक्रबार दिएको जानकारीअनुसार त्रिवि क्रिकेट मैदानमा ३० अप्रिलदेखि ९ मे (वैशाख १७ देखि २६ गतेसम्म) दुई टोलीबीच दुई शृंखला आयोजना हुनेछ ।
जिम्बाबेको टोली १५ वैशाखमा नेपाल आइपुग्नेछ । १७ गतेदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो एकदिवसीय खेल २१ गते हुनेछ ।
त्यसपछि टी–२० शृंखला सुरु हुनेछ । वैशाख २३, २५ र २६ गते टी–२० खेल हुनेछ । टेष्ट मान्यताप्राप्त देशको ए टिम भएको हुनाले यी खेलहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले लिष्ट एको मान्यता दिनेछ ।
आईसीसी विश्वकप लिग टू अन्तर्गत जुनमा हुने त्रिकोणात्मक शृंखलाको तयारीस्वरुप नेपालले जिम्बाबेको टोलीलाई आमन्त्रण गरेको हो । नेपालले जुन दोस्रो साता अमेरिकामा अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखला खेल्दैछ ।
प्रकाशित मितिः २०७९ बैशाख ०२ शुक्रबार
Comments