काठमाडौं । नेपाल पुलिस क्लबका महसुस मोक्तान प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन महसुस च्याम्पियन बनेका हुन् । महसुस दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम काताका स्वर्ण पदक विजेता हुन् ।
एपिएफ क्लबका स्वर्णिम महर्जनले रजत पदक जिते । फाइनलमा महसुसले २४.८ अंक र स्वर्णिमले २३.४ अंक जोडेका थिए । त्रिभुवन आर्मी क्लबका प्रविण मानन्धर र प्रदेश १ का रोहित राईले कास्य पदक जिते । प्रविण पनि १३ औं सागका टिम काताका स्वर्ण पदक विजेता हुन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ ।
तीन दिन सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ । महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहयोगकी रुपमा रहेका छन् ।
प्रकाशित मितिः २०७८ चैत २५ शुक्रबार
Comments