काठमाडौं । सुदूरपश्चिम स्पोर्ट्स अवार्ड-२०७८ का लागि बिहीबार थप दुई विधाको गरी मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो संस्करणको अवार्डमा सुदूरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुबेर सिंह, क्रिकेटका अर्जुन साउद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् ।
महिलातर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन् ।
उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई विभिन्न आठ विधामा अवार्ड दिइनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई समान ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकारमञ्च कैलालीले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रकाशित मितिः २०७८ चैत २४ बिहिबार
Comments