काठमाडौं । त्रिकोणात्मक टि-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको हो।
नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ६६ रन बनाएका हुन्। रोहित पौडेलले २३ बलमा ४१ रनको योगदान गरे। उनले २ छक्का र ४ चौका प्रहार गरे। २९ बल खेलेका आसिफ शेखले ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे।
बिष्फोटक ब्याटिङ गरेका मोहम्मद अदिल आलमले ११ बलमा ३१ रन बनाए। उनले ३ छक्का र १ चौका हाने। कुशल भुर्तेलले १७ र करण केसीले एक रन बनाउँदा आरिफ शेख २ रनमा अविजित रहे। नेपालले अन्तिम ओभरमा ३ विकेट गुमाएको थियो। पिएनजीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित मितिः २०७८ चैत १७ बिहिबार
Comments