काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा बाँसबारी क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बाँसबारीले श्री भगवती क्लबमाथि २-१ को जित हात पारेको हो ।
बाँसबारीको जितमा राजेश पौडेल र विकी राईले १-१ गोल गर्दा श्री भगवतीका दामोदर थापा क्षेत्रीको नाममा १ गोल रह्यो । खेलको ५२ औं मिनेटमा राजेशले बाँसबारीलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा दामोदरले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
८२ औं मिनेटमा विकीले पेनाल्टीमार्फत् गोल गरेपछि बाँसबारीले २-१ को रोमाञ्चक जित हात पारेको हो । योसँगै दोस्रो जित दर्ता गरेको बाँसबारी ७ खेलबाट ९ अंक जोडेर छैठौं स्थानमा उक्लिँदा दोस्रो पराजय बेहोरेको श्री भगवती समान खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७८ चैत ०९ बुधबार
Comments