एजेन्सी, १५ बैशाख । इंग्लिस प्रिमियर लिग अन्तर्गत यो सिजनको अन्तिम म्यानचेस्टर डर्बी बराबरीमा सकिएको छ । लिग अन्तर्गत गएराति म्यानचेस्टर सिटीको मैदानमा भएको डर्बीमा १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेड गोलरहित बराबरीमा रोकिएको हो । सिटीका सर्जियो अग्युरोसँगको खराब ट्याकलका कारण म्यानचेस्टर युनाइटेडका माउवान फेलेनी ८४ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो ।
जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड लिगका पछिल्ला २४ खेलमा अपराजित रहेको छ । सिटीका अग्युरोले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए । तर गोल भने हुन सकेन । जाल्टन इब्राहिमोविच बिना खेलेको युनाइटेडले पनि केही राम्रा मौका बनाएपनि गोल भने हुन सकेन । बराबरीपछि सिटी तथा युनाइटेड दुवैको शीर्ष चारमा रहने सम्भावना कायम छ । बराबरीपछि ३३ खेलबाट ६५ अंकसहित सिटी चौथो तथा ६४ अंक रहेको युनाइटेड पाँचौं स्थानमा छ ।
Comments