काठमाडौं । आइसिसी महिला एक दिवसीय विश्वकपअन्तर्गत आज सम्पन्न खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा दक्षिण अफ्रिकाले पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो ।
२२४ रनको लक्ष्य पछ्याएको पाकिस्तान १ बल बाँकी छँदा सबै विकेट गुमाउँदै २१७ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान बिस्माह मारुफ र निदा डारले अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
१०४ बलको सामना गरेकी मारुफले ७ चौकासहित ६५ रन बनाइन् । ५५ रन बनाएकी डारले ७२ बलमा २ चौका र १ छक्का प्रहार गरिन् । नहिदा खानले ४० रन बनाइन् ।
दक्षिण अफ्रिकाका लागि शवनिम स्माइलले ३, मरिजेन काप अयाबोंगा खाकाले २–२ तथा मसाबता क्लाले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
यसअघि न्युजिल्यान्डको माउन्ट मेउन्गानुइस्थित बे ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि लौरा वोल्भार्डले सर्वाधिक ७२ रनको योगदान दिइन् । ९१ बलको सामना गरेकी उनले १० चौका प्रहार गरिन् ।
कप्तान सुने लुसले १०२ बलको सामना गर्दै २ चौका र १ छक्कासहित ६२ रन बनाइन् । क्लो ट्राइयोन र त्रिशा चोट्टीले समान ३१–३१ रन जोडे ।
पाकिस्तानका लागि फातिमा साना र गुलाम फातिमाले ३–३ तथा डायना बेग र नशरा सन्धुले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।यो जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा ४ अंक जोड्दा लगातार तेस्रो पराजय बेहोरेको पाकिस्तान अंकविहीन छ ।
प्रकाशित मितिः २०७८ फागुन २७ शुक्रबार
Comments