चितवन । पूर्वी-चितवनको खैरहनी सिमलटाँडीमा बुधबारदेखि राष्ट्रिय स्तरको ‘स्वर्गीय लोकबहादुर पुन स्मृति कप’ महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा तीनवटा विभागीय टोलीसहित आठवटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
कर्पाकेली पुन युवा क्लबको पूर्वी-चितवन क्षेत्रीय समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका बारेमा जानकारी दिन सोमबार आयोजना भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष चक्रबहादुर पुन मगरले दोस्रो हुने टिमले एक लाख रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।
यसैगरी चौथो स्थानमा रहने टीमले २५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाउने उनले बताए । प्रतियोगिताको अन्तिम खेल फागुन २८ गते शनिबार हुने छ ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा काठमाडौंको होडबाङजी न्यु डायमन्ड स्पोर्ट्स क्लबले भाग लिने छन् । यसैगरी कञ्चनपुर भलिबल ट्रेनिङ सेन्टर, बुटबलको एभरेस्ट स्पोर्ट्स क्लब, सुर्खेतको चुली युवा क्लब र आयोजक कर्पाकेली पुन युवा क्लबको महिला टिमले प्रतिस्पर्धामा भाग लिने छन् ।
प्रकाशित मितिः २०७८ फागुन २३ सोमबार
Comments