काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले १-१ गाेलकाे बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक गाेलले पछि परेकाे अवस्थालाई उल्टाउँदै आर्मीले मनाङबाट अंक खाेसेकाे हाे ।
खेलकाे ४५ औं मिनेटमा कप्तान अञ्जन विष्टले गाेल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा सन्तोष तामाङलेको फ्रिकिकमा मनाङका डिफेन्डर फ्रयान्कलिन टाला र गाेलरक्षक अशोक बराल ठोक्किदा उनीहरुलाई लागेर बल आत्मघाती गोल भएपछि आर्मीले खेललाई बराबरीमा ल्याएकाे थियाे ।
याे नतिजासँगै १३ खेलमा २३ अंक जाेडेकाे आर्मी दोस्रो तथा समान खेलबाट २१ अंकका साथ मनाङले पाँचाै स्थानमा रहेर लिगकाे अन्त्य गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएकाे खेलमा न्युराेड टिम (एनआरटी ) ले नेपाल पुलिस क्लबमाथि ३-१ काे सहज जित हात पारेकाे छ ।
प्रकाशित मितिः २०७८ फागुन १४ शनिबार
Comments