काठमाडौं । ललितपुर मेयर महिला टी–२० च्याम्पियनसिपमा साविक विजेता एपिएफ क्लबले लगातार तेस्रो जित हात पारेको छ । एपिएफले शुक्रबारको पहिलो खेलमा ललितपुर मेयर–११ लाई सात विकेटले हराएको हो ।
८१ रनको लक्ष्य एपिएफले १३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि ओपनर ज्योति पाण्डेले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् । ४५ बलको सामना गरेकी उनले ११ चौका प्रहार गरिन् ।
रोमा थापा ११ रनमा विजित रहँदा सरिता मगरले आठ रन बनाइन् । ललितपुरका लागि अनुराधा चौधरीले एक विकेट हात पार्दा दुई विकेट रन आउटको रूपमा प्राप्त भयो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८० रन बनायो ।
उसका लागि सुमन खतिवडाले सर्वाधिक ३० रनको योगदान दिँदा आरती बिँडारी २१ र कप्तान सरस्वती कुमारी चौधरी ९ रनमा अविजित रहे । एपिएफका लागि करुणा भण्डारी र सुमन विष्टले एकरएक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो ।
योसँगै लगातार तेस्रो जित निकाल्दै ६ अंक जोडेको एपिएफ फाइनल नजिक पुग्दा लगातार तेस्रो पराजय बेहोरेको ललितपुर भने समूह चरणबाटै बाहिरिएको छ ।
प्रकाशित मितिः २०७८ फागुन १३ शुक्रबार
Comments