काठमाडौं । चारदेशीय टी–२० सिरिज अन्तर्गत दोस्रो नेपालले आज शनिबार युएइसङ्ग प्रतिस्पर्धा गर्ने भएको छ ।
अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ : ४५ बजे सुरू हुन लागेको हो । नेपाल युएइलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
पहिलो खेल नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । युएइविरुद्धको पछिल्लो तीन भेटमा नेपालले दुईमा जित र एकमा हार व्यहोरेको छ । नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो। ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएइ, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।
नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने तालिका छ ।
प्रकाशित मितिः २०७८ माघ २९ शनिबार
Comments