काठमाडौं । ओमान भ्रमणका लागि नेपाली टोलीमा खेलाडी थपिन सक्ने सम्भावना बढेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले चारदेशीय सिरिज तथा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटका १६ जनाको टिम घोषणा गरेको छ ।
तर कोभिड-१९ लाई लिएर खेलाडी थप्ने बारेमा छलफल भईरहेको क्यानका क्रिकेट म्यानेजर विनोद दासले जानकारी गराए ।
‘टिममा हामीले खेलाडी थप्ने बारेमा छलफल गरिरहेका छौ तर यसको टुंगो भने लागेको छैन ।
ओमान भ्रमणका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली टिममा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, प्रदिप ऐरी, शहाव आलम, लोकेश बम, कुशल भुर्तेल, अविनाश बोहरा, करण केसी, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, जितेन्द्र मुखिया, आरिफ शेख, आसिफ शेख, शरद भेषावकर तथा विवेक यादव रहेका छन् ।
क्रिकेट म्यानेजर दासका अनुसार नेपाली टोली मंगलबार ओमान जाने भएको छ ।
नेपाली टोलीले आईबार टियु क्रिकेट मैदानमा अन्तिम दिनको अभ्यास समेत गरेको छ ।
विश्वकपको ग्लोबल छनोट अघि आयोजक ओमान, नेपाल, युएई र आयरल्यान्डबीच चारदेशीय सिरिज हुनेछ ।
सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी ११ तारिखमा खेल्नेछ भने दोस्रो खेल युएईविरुद्ध फेब्रुअरी १२ तारिखमा खेल्नेछ ।
नेपालले अन्तिम खेल आयरल्यान्डविरुद्ध फेब्रुअरी १४ मा खेल्ने तालिका रहेको छ ।
त्यसैगरी, विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणमा क्यानाडा, आयोजक ओमान र फिलिपिन्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
नेपालले आफ्नो पहिलो खेल ओमानविरुद्ध फेब्रुअरी १८ तारिखमा खेल्नेछ ।
नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध १९ तथा तेस्रो खेल क्यानाडाविरुद्ध २१ तारिखमा हुनेछ ।
प्रकाशित मितिः २०७८ माघ २३ आइतबार
Comments