काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि इजिप्टले सेनेगलको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज राति पौने १ बजे क्यामरुनले पउल बिया स्टेडियममा हुनेछ ।
प्रतियोगिताको सर्वाधिक सफल टोली इजिप्ट दसौंपटक फाइनल खेल्दैछ । ऊ आठौँपटक उपाधि उचाल्ने प्रयासमा हुनेछ । यसअघि इजिप्टले १९५७, १९५९, १९८६ १९९८, २००६,२००८ र २०१० मा उपाधि जित्दा सन् १९६२ र २०१७ को फाइनलमा पराजय बेहोरेको थियो ।
तेस्रोपटक फाइनल खेल्दै गरेको सेनेगल पनि पहिलोपटक उपाधि जित्ने दाउमा हुनेछ । यसअघि सेनेगलले सन् २००२ र सन् २०१९ को फाइनल खेलेको थियो ।
यो खेललाई इंग्लिस क्लब लिभरपुलका दुई स्टार मोहम्मद सलाह र सादियो मानेबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । इजिप्टलाई फाइनलसम्म पुर्याउन कप्तान सलाहले २ गोल गरेका छन् । प्रर्दशन सोचे अनुरूपको नभए पनि उनी सेनेगलका लागि घातक बन्न सक्छन् ।
सेनेगलका कप्तान मानेले पनि प्रतियोगितामा आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकेका छैनन् । तर, हालसम्म ३ गोल गरेका उनी इजिप्टका लागि खतरा बन्नसक्ने खेलाडी हुन् । इजिप्टले आयोजक क्यामरुन र सेनेगलले बुर्किना फासोलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।
प्रकाशित मितिः २०७८ माघ २३ आइतबार
Comments