काठमाडौं, २५ चैत । विश्व फुटबल महासंघ फिफा बरियतामा नेपाल १७० औं स्थानमा स्थिर छ । भारतले भने फिफा बरियता पुनः छलाङ मारेको छ । ३३ स्थान माथि उक्लिएको भारत १०१ औं स्थानमा छ । गतमहिना पनि वरियता क्रममा उल्लेख्य सुधार गर्दै भारत १३४ औं स्थानमा आइपुगेको हो । भुटानले पनि वरियता क्रममा सुधार ल्याउँदै नेपाललाई पछि पारेको छ । १३ स्थान माथि उक्लिएको भुटान १६४ औं स्थानमा छ । अफगानिस्तान तीन स्थान उक्लिँदै १५३ औं स्थानमा पुगेको छ । ११ स्थान तल झर्दा पनि माल्दिभ्स १५१औं स्थानमा छ । दक्षिण एसियाली मुलुकमध्ये नेपालभन्दा माथि भुटान, अफागानिस्तान, मालदिभ्स र भारत छन् । बंग्लादेश, पाकिस्तान र श्रीलंका नेपाल भन्दा पछाडि छन् । बंग्लादेश १९३ र श्रीलंका १९७औं स्थानमा छन् । पाकिस्तान भने २०१ औं नम्बरमा पुगेको छ ।
यसैगरी, पाँच पल्ट विश्व कप जितेको ब्राजिल ७ वर्षपछि फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ । सन् २०१० को विश्व कपमा नेदरल्यान्ड्सबाट पराजय भोगेपछि ब्राजिलले फिफा वरियताको शीर्ष स्थान गुमाएको थियो । गत महिनासम्म विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना थियो । ब्राजिल शीर्ष स्थानमा उक्लिएपछि अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ । जर्मनी तेस्रो र चिली चौथो स्थानमा कायमै छन् भने कोलम्बिया दुई स्थान माथि उक्लिदैं पाँचौ स्थानमा छ । फ्रान्स छैटौं स्थानमा रहँदा बेल्जियम दुई स्थान तल झरेर सातौं स्थानमा आइपुगेको छ ।
पोर्चुगल आठौं स्थानमा छ । स्विट्जरल्याण्ड दुई स्थानमाथि उक्लिएर टप १० मा परेको छ । दशौं स्थानमा स्पेन छ । उरुग्वे टप टेनबाट बाहिरिएको छ र ६ स्थान तल झर्दै विश्व वरियताको १५ औं नम्बरमा पुगेको छ ।
फिफा बरियतामा भुटानले जित्यो नेपाललाई
0
Share.
Comments