काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार चौथो जित हात पारेको छ । ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा आइतबार नेपालले महिलातर्फ उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो ।
प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले खेल २५-२०,२५-२३ र २५-१४ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ र दोस्रो खेलमा माल्दिभ्स तथा तेस्रो खेलमा आयोजक बंगलादेशसँग समान ३-० को सोझो सेटको जित हात पारको थियोे ।
नेपाली पुरुष टोलीले पनि आजै माल्दिभ्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साँझ पौने ४ बजे सुरु हुनेछ । नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित नेपालले दोस्रो खेलमा उज्वेकिस्तानमाथि ३-१ सेटको जित हात पार्दा तेस्रो खेलमा श्रीलंकासँग ३-१ को सेटमा हार बेहोरेको थियो ।
प्रकाशित मितिः २०७८ पुस ११ आइतबार
Comments