काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल शुक्रबार सुरु हुँदैछन् । दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ः०० बजे एपिएफ फुटबल क्लब र न्यूरोड टिम (एनआरटी) बीच हुनेछ । त्यस्तै नेपाल पुलिस क्ल्ब र फ्रेन्ड्स क्लबबीच दिउँसो ४ः४५ बजे खेल सुरु हुनेछ ।
पाँचौं चरणमा पुगेर पहिलो जित निकालेको एपिएफ त्यसैको निरन्तरताको पक्षमा हुनेछ । चौथो चरण सम्म जित विहिन रहेको एपिएफले पछिल्लो खेलमा फ्रेन्ड्सलाई ३–१ ले हराउँदै रेलिगेसन दबाबलाई थोरै कम गरेको थियो ।
यद्दपी टोली अहिले पनि रेलिगसेन क्षेत्रमै रहेको छ । चौथो चरणमा पुगेर पहिलो जित दर्ता गरेको एनआरटीले भने पछिल्लो खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेलेको थियो । एनआरटी ६ अंकका साथ सातौं र एपिएफ ४ अंकसहित १३ औं स्थानमा छ ।
अर्कोतर्फ पुलिस र फ्रेन्ड्स दुवैका लागि पछिल्लो खेल निराशाजनक रह्यो । पोखरामा पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँगको खेल र फ्रेन्ड्सले काठमाडौंमा एपिएफसँगको खेल समान ३–१ ले गुमाएका थिए । २ अंक जोडेर फ्रेन्ड्स अंक तालिकाको पुछारमा रहेकोले रेलिगेसन स्वतः टोलीमाथि छ नै ।
अर्को तिर ५ खेलमा ५ अंक मात्र जोडेका कारण पुलिसमाथि पनि दबाब बढ्दै जान थालेको छ । आफू माथिको दबाब कम गराउनका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उतर्नेछन् । तर, फ्रेन्ड्सले ५ खेलमा मात्र दुई खेलमा बराबरी गर्न सकेकोले बढी दबाब टोली माथि रहनेनैछ । पुलिस नवौं स्थानमा छ ।
प्रकाशित मितिः २०७८ पुस ०९ शुक्रबार
Comments