काठमाडौं । न्युजिल्यान्ड क्रिकेट टिमले अर्को सिजन दुई पटक पाकिस्तानको भ्रमण गर्ने भएको छ । दुवै टिमका क्रिकेट बोर्डले आज सोमवार यसको पुष्टि गरेका छन् । न्युजिल्यान्डको टिम दुई टेस्ट र तीन एकदिवसीय खेल्नका लागि सन् २०२२ डिसेम्बरमा पाकिस्तान जानेछ । त्यसपछि २०२३ अप्रिलमा किवी टिम पाँच एकदिवसीय र पाँच टी–२० खेल्नका लागि पाकिस्तानको भ्रमण गर्नेछ ।
न्युजिल्यान्ड टिमले सन् २०२१ को टी–२० विश्व कप अघि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । न्युजिल्यान्डले सुरक्षा कारण देखाउँदै खेल्न मानेको थिएन । यही कारण न्युजिल्यान्ड क्रिकेट बोर्डले खेल सुरु हुनुअघि आफ्नो खेलाडीलाई पाकिस्तानबाट फिर्ता बोलाएको थियो । अहिले भने न्युजिल्यान्डले पाकिस्तानमा खेल्ने घोषणा गरेको हो ।
सन् २००९ मार्च ३ मा श्रीलङ्काको टिममाथि भएको आतङ्कवादी आक्रमणपछि पाकिस्तानमा लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलाइएको छैन । सुरक्षा कारण देखाउँदै कुनै पनि टिमले पाकिस्तान भ्रमण गरेनन् । त्यसपछि केही टिम त्यहाँ गए, जसको सुरक्षामा पाकिस्तान क्रिकेट बोर्डले खुलेर रकम खर्च गर्यो । यही कारण अब त्यहाँ अन्तर्राष्ट्रिय क्रिकेट फर्किरहेको छ ।
श्रीलङ्का, जिम्बाब्वे र वेस्ट इन्डिज जस्ता टिमपछि अब अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड जस्ता टिम पाकिस्तान भ्रमण गर्दैछन् । सन् २०२२ मार्चदेखि २०२३ अप्रिलको बीचमा पाकिस्तानले अस्ट्रेलिया, न्युजिल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध आठ टेस्ट, ११ एकदिवसीय र १३ टी–२० आयोजना गर्नेछ ।
प्रकाशित मितिः २०७८ पुस ०५ सोमबार
Comments