एजेन्सी, २३ चैत । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा जाल्टन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएका छन् । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड एभर्टनसँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको इन्जुरी समयसम्म १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडलाई इब्राहिमोविचले गोल गर्दै हारबाट जोगाएका हुन् । २२ औं मिनेटमा फिल यागियेल्काले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । इन्जुरी समयको तेस्रो मिनेटमा एभर्टनका एस्ली विलियम्सले युनाइटेडका ल्युक शवले प्रहार गरेका बललाई लाइनबाट नियन्त्रण गर्ने प्रयास गरे र त्यसपछि उनले रातो कार्ड पाएर मैदानबाट बाहिरिए । ९४ औं मिनेटमा पाएको पेनाल्टीमा इब्राहिमोविचले युनाइटेडका लागि बराबरी गोल गर्दै हारबाट जोगाए ।
युनाइटेडले आफ्नो अपराजित यात्रा २० पुर्याएको छ । युनाइटेड यो सिजन लिगका १२ खेलमा बराबरीमा रोकिएको छ । बराबरीपछि पाँचौं स्थानको युनाइटेडको २९ खेलबाट ५४ अंक भएको छ । युनाइटेड चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा चार अंकले पछि छ । सातौं स्थानको एभर्टनको ३१ खेलबाट ५१ अंक भएको छ ।
म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरी
0
Share.
Comments