काठमाडौं । अर्जेन्टीनाको बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै म्याराडोना कपको उपाधि जितेको छ ।
साउदी अरबको राजधानी रियाधस्थित मार्सुल पार्क स्टेडियममा भएको खेलमा बार्सिलोनालाई पेनाल्टीमा पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो ।
अर्जेन्टीनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको सम्झनामा दुई टिमबीच मैत्रीपूर्ण खेल भएको थियो ।
म्याराडोनाको गत वर्ष नोभेम्बर २५ मा हृदयघातका कारण ६० वर्षको उमेरमा निधन भएको थियो ।
दुई टिमबीच निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत विजेताको टुंगो लगाइएको थियो ।
पेनाल्टीमा बोका जुनियर्सले बार्सिलोनालाई ४-२ ले पराजित गरेको थियो ।
यस अघि फेरन गुग्लाले ५१ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएपनि बोका जुनियर्सका इचक्वेल सेवालोसले ७६ मिनेटमा बराबरी गोल गरेका थिए ।
खेल हेर्नका लागि सन् १९८६ विश्व कप विजेता टोलीका परिवारका सदस्य तथा साउदी अरबका विभिन्न क्लबका पदाधिकारीहरु आएका थिए ।
म्याराडोनाले सन् १९८१-१९८२ तथा १९९५ बोका जुनियर्सबाट खेलेका थिए ।
त्यसैगरी, उनले सन् १९८२ देखि १९८४ सम्म दुई सिजन बार्सिलोनाका लागि समेत खेलेका थिए ।
प्रकाशित मितिः २०७८ मंसिर २९ बुधबार
Comments