काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २-१ गोल अन्तरले हराउँदै लिभरपुलले शतप्रतिशत जित निकालेको हो।
मिलानको मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र डिभोग ओरिगीले एक एक गोल गरे । खेलमा सुरुआती अग्रता भने मिलानले बनाएको थियो । फिकायो टोमोरीले २८ औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ५५ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
यस जितसँगै लिभरपुल शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको छ । लिभरपुल च्याम्पियन्स लिगको समूह चरणमा सबै ६ खेल जित्ने पहिलो इंग्लिस टिम समेत बनेको छ ।
लिभरपुलले समूह चरणमा ६ खेलमा १८ अंक जोड्यो । मिलान भने समूह चरणबाटै बाहिरिएको छ । मिलानले ६ खेलमा ४ अंक जोड्यो ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments