काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।हिमालयन र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
हिमालयन आज पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । हिमालयनले अघिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । हिमालयन २ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
पुलिस भने दोस्रो जितको खोजीमा हुनेछ । पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । जावलाखेल आज पहिलो अंकको खोजीमा समेत रहेको छ ।
जावलाखेलले २ खेलमा अंक जोड्न सकेको छैन । अंक विहीन जावलाखेल लिगको १३ औं स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र भने दोस्रो जितको खोजीमा रहेको छ । मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २२ बुधबार
Comments