काठमाडौं । इटालियन सिरी ए मा एसी मिलानले अप्रत्याशित हार भोग्दै शीर्ष स्थानमा पुग्ने मौका चुकाएको छ। आइतबार राति भएको खेलमा एसी मिलान १३ औँ स्थानमा रहेको सासुओलोसँग ३-१ ले पराजित हुन पुग्यो। जारी प्रतियोगितामा लगातार दोस्रो पटक शीर्ष स्थानमा पुग्ने अवसर गुमाउन एसी मिलान बाध्य भयो।
शीर्ष स्थानको नापोलीसँग समान ३२ अङ्क भए पनि मिलान अग्रताको अवसरबाट चुकेको छ। एसी मिलानको सिरी ए मा यो लगातार दोस्रो हार हो। पछिल्ला तीन खेलमा मिलानले जित निकाल्न सकेको छैन। नापोली पनि पछिल्ला दुई खेलमा जित निकाल्न असमर्थ हुँदा इन्टरमिलानले अङ्क दुरी साँघुर्याउने अवसर पाएको थियो । इन्टर भने पछि पाँच खेलमा अपराजित रहँदै ३१ अङ्कका साथ तेस्रो स्थानमा छ।
उपाधि दाबेदार एसी मिलानलाई पराजित गरेपछि सासुओलो अङ्क तालिकामा एक स्थान सुधार गर्दै १२ औँ स्थानमा उक्लियो। खेलमा एसी मिलानले २१ औँ मिनेटमा नै रोमानोलीको गोल मार्फत अग्रता लिए पनि अग्रता जोगाउन असफल भयो।
२४ औ मिनेटमा नै सासुओलोले सामाकाको गोलमार्फत खेल बराबरीमा ल्यायो। ३३ औँ मिनेटमा मिलानका काजिरले आत्माघाती गोल उपहार दिँदा सासुओलोले खेलमा अग्रता बनायो। ३-१ ले खेल जित्ने क्रममा उसका लागि बेरारर्डिले ६६ औँ मिनेटमा तेस्रो गोल गरेका थिए।
प्रकाशित मितिः २०७८ मंसिर १३ सोमबार
Comments