काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टको कप्तानीमा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७८ को लागि टोली घोषणा गरेको छ ।
मनाङले केहि नयाँ खेलाडीलाई क्लबमा अनुबन्ध गर्दै २३ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको गोलरक्षकमा विशाल सुनार, अशोक बराल र तोप बहादुर राना छन् । त्यस्तै गत सिजन टोलीमा रहेका विमल राना, निशान लिम्बु, पुजन उपरकोटी र आदित्य चौधरी यसपटक पनि टोलीमा नियमित छन् । विदेशी खेलाडीमा मनाङले ओलावाले आफिजलाई निरन्तर राख्दा भारतीय मिडफिल्डर दयानन्द सिंह एलाब्गम पनि टोलीमा छन् । राष्ट्रिय टोलीका डिफेन्डर दीनेश राजवंशी र मिडफिल्डर नितिन थापा यो सिजन मनाङको जर्सीमा देखिनेछन् ।
अर्का विदेशी फरवार्ड सोमिडे आदेलाजा मनाङ फर्किएका छन् । डिफेन्डर फ्रान्क्लिन क्वेटे टाला नेपाल सुपर लिगमा प्रभाव जमाएपछि मनाङमा अनुबन्धित भएका छन् । मिडफिल्डर रुपेश केसी र अनुभवी फरवार्ड दीपक राई पनि पुन: मनाङको जर्सीमा देखिनेछन् । मिडफिल्डमा विश्व अधिकारी र डिफेन्डरद्वय प्रवेश दनुवार र सरोज योन्जन मनाङ आएका छन् ।
मनाङले क्लबकै पूर्व खेलाडी राजेन्द्र तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको छ । उनीसँगै नाइजेरियन तोपे फुजा क्लबको प्रशिक्षक रहनेछन् । क्लबले विनोद डंगोललाई गोलरक्षक प्रशिक्षक नियुक्त गरेको छ । व्यवस्थापकमा रामबहादुर गुरुङ तथा फिजियोमा कर्मा छोदेन गुरुङ रहेकी छिन् ।
मनाङले लिगको पहिलो खेलमा जावलाखेल युवा क्लबको सामना गर्दैछ । खेल आइतबार दिउँसो ४:४५ बजे दशरथ रंगशालामा हुनेछ ।
प्रकाशित मितिः २०७८ मंसिर ०३ शुक्रबार
Comments