काठमाडौं । अर्को वर्ष अस्ट्रेलियामा १६ अक्टोबरबाट हुने आईसीसी ट्वान्टी–२० विश्वकप २०२२ सात सहरमा हुने पक्का भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले विश्वकपका लागि सिड्नीको सिड्नी क्रिकेट मैदान, मेलबर्नको मेलबर्न क्रिकेट मैदान, एड्लेइडको एड्लेइड ओभल, ब्रिसबेन, जिलोङको कार्डिनिया पार्क, होबार्टको बेलेरिभ ओभल र पर्थको गब्बा क्रिकेट मैदानमा गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा ४५ वटा खेल हुनेछन् । त्यसमध्ये सेमिफाइनलका खेलहरू ९ र १० नोमेम्बरमा सिड्नी र एड्लेइडमा हुनेछन् । २०२२ मा सुपर–१२ खेल्ने आठ टोलीको टुङ्गो लागिसकेको छ । जसमा २०२१ विश्वकपको विजेता अस्ट्रेलियासहित उपविजेता न्युजिल्यान्ड, इङल्यान्ड, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र दक्षिण अफ्रिका छन् ।
त्यस्तै, सुपर–१२ खेल्ने चार टोली स्कटल्यान्ड, श्रीलंका, वेस्ट इन्डिज र नामिबियाले विश्वकपको पहिलो चरणका लागि स्थान पक्का गरेका छन् । पहिलो चरणको क्वालिफायर खेलपछि चार टोलीले सुपर–१२ मा स्थान बनाउनेछन् ।
२०२१ संस्करणको पहिलो चरणबाट बाहिरिएका चार टोली आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र पपुवा न्युगिनी (पीएनजी)ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछन् । त्यसमा नेपालले पनि प्रतिस्पर्धा गर्नेछ ।
“प्रतियोगिताका लागि १२ टोलीले स्थान सुरक्षित गरिसकेका छन् । अन्य टोलीको भने छनोट प्रतियोगितापछि टुङ्गो लाग्नेछ । अस्ट्रेलियामा हुने प्रतियोगिताका लागि हामी उत्साहित छौँ । २०२० मा हुने विश्वकप कोभिड–१९ का कारण सर्यो । अब हामी यस विश्वकपलाई भव्यताका साथ आयोजना गर्नेछौँ,” आईसीसी इभेन्टस् विभाग प्रमुख क्रिस टेट्लेले बताए । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक ३० मंगलबार
Comments