काठमाडौं । टी -ट्वेन्टी विश्वकपको इतिहासमा अस्ट्रेलियाले पहिला ब्याटिङ गरेका खेलमा जित हात नपारी उपाधि जित्ने दोस्रो टोली बनेको छ।
आइतबार साँझ भएको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदा टस विजेता टोलीले नै जितेको थियो। अघिल्ला खेलहरुमा झैँ अस्ट्रेलियाले यसपटक पनि टस जितेर पहिला बलिङ गर्ने निर्णय लियो। न्युजिल्यान्डले एक सय ७३ रनको लक्ष्य पछ्याए पनि अस्ट्रेलियाले सहजै पुरा गर्यो। यसअघि सन् २०१६ मा आयोजित अघिल्लो टीट्वेन्टी विश्वकपमा वेस्ट इन्डिजले पहिला ब्याटिङ गरेका खेलहरु नजिते पनि प्रतियोगिताको उपाधि पक्का गरेको थियो।
यसपटक अस्ट्रेलियाले आफूले खेलेका सातमध्ये ६ खेलमा टस जितेको थियो भने ती सबै खेलमा पहिला बलिङ गर्ने निर्णय लिएको थियो। टस हारेको एक मात्र खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डसँग पहिला ब्याटिङ गर्नु परेको थियो, जुन खेलमा अस्ट्रेलिया पराजित भएको थियो।
अस्ट्रेलियाका कप्तान एरोन फिन्चले यसपटकको विश्वकपमा टस जित्नु, खेल जित्नुको मुख्य आधार भएको बताएका छन्।
‘इमान्दारीपूर्वक भन्नुपर्दा यसले(टस जित्नु) ठूलो भूमिका निर्वाह गर्यो’, पहिलोपटक टीट्वेन्टी विश्व च्याम्पियन भएपछि आइतबार राति फिन्चले भने।
फिन्चले पछिल्ला २२ टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलमध्ये १८ वटामा टस जितेका छन्।
प्रकाशित मितिः २०७८ कार्तिक २९ सोमबार
Comments