काठमाडौं । फ्रान्स फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट भएको छ । शनिबार राति घरेलु मैदानमा फ्रान्सले काजकस्तानलाई ८–० को भारी अन्तरले पराजित गर्दै छनोट चरणमा एक खेल बाँकी छँदै विश्वकपमा छनोट भएको हो ।
फ्रान्सका लागि केलियन एमबाप्पेको ह्याट्रिकसहित चार गोल, करिम बेन्जेमाको दुई तथा एड्रिएन राविओट र एन्टोइन ग्रिजमनले समान एकरएक गोल गरे । खेलको छैटौ मिनेटमा पहिलो गोल गरेको एमबाप्पे १२ औं मिनेट र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि फ्रान्स पहिलो हाफमा ३–० ले अघि बढ्यो ।
५५ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई ४–० ले अघि बढाए । ५९ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे । ७५ औं मिनेटमा राविओटले गोल गर्दै फ्रान्सलाई ६–० ले अघि बढाए ।
८४ औं मिनेटमा ग्रिजमनले पेनाल्टीमा गोल गर्दै खेललाई ७–० को स्थितिमा ल्याए ।त्यसको तीन मिनेटपछि एमबाप्पेले व्यक्तिगत चौथो तथा टोलीको लागि आठौं गोल गर्दै फ्रान्सलाई ८–० को फराकिलो जित दिलाए ।
जितपछि अपराजित रहेको फ्रान्स ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो । पराजित काजकस्तान ३ अंक जोडेर पुछारमा रह्यो ।
विश्वविजेता फ्रान्स विश्वकपमा स्थान बनाउने चौथो टोली बनेको छ । यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेको छ । आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २८ आइतबार
Comments