काठमाडौं । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपका लागि छनोट चरणबाट देशहरू छानिन थालेका छन् । अहिलेसम्म आयोजकबाहेक तीन देशले छनोट चरण पार गर्दै विश्वकप खेल्ने पक्का गरेका छन् ।
३२ देश विश्वकपमा सहभागी हुनेछन् । जसमा आयोजकका नाताले कतार सिधैं विश्वकपमा सोझै छनोट भएको छ । विश्वकपमा कतारको यो पहिलो सहभागिता हो । अरु ३१ देशमा युरोपबाट १३, एसियाबाट ६, अफ्रिकाबाट ५, दक्षिण अमेरिकाबाट चारदेखि पाँच, कन्काकाफबाट तीन वा चार र ओसियानाबाट एक टोलीसम्म छनोट हुन सक्नेछ ।
युरोपबाट जर्मनी र डेनमार्क छनोट भएका छन् । छनोट चरणमा आफ्नो समूहमा पहिलो हुँदै यी दुई टोली छनोट भएका हुन् । जर्मनी १८ औं पटक विश्वकपमा छनोट भएको हो । गएराति भएको खेलमा जर्मनीले लेचेस्टाइनलाई ९–० गोलले पराजित गरेको थियो ।
जर्मनीले १९५४, १९७४, १९९० र २०१४ गरी चारपटक विश्वकपको उपाधि उचालेको छ । २०१४ विश्वविजेता जर्मनी चारपछि २०१८ मा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।
डेनमार्कको यो दोस्रो सहभागिता हो । पहिलो सहभागितामा १९९८ मा डेनमार्क सनसनी मच्चाउँदै क्वाटरफाइनलसम्म पुगेको थियो ।
कोलम्बियालाई १–० गोलले पराजित गरेसँगै ब्राजिल पनि दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट भएको छ । योसँगै ब्राजिल २२ औं पटक विश्वकपमा सहभागी हुन लागेको हो । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँचपटक विश्वकपको उपाधिमाथि कब्जा जमाएको छ ।
पाँचपटक विश्वकप उपाधि जित्ने ब्राजिल एकमात्र टोली हो । अहिलेसम्म ब्राजिलले ५, जर्मनी र इटालीले चार/चार, अर्जेन्टिना, फ्रान्स र उरुग्वले दुईदुई, स्पेन र इङल्याण्डले एकएकपटक विश्वकपको उपाधि जितेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक २६ शुक्रबार
Comments