काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी कोचिङ कन्भेन्सनअन्तर्गत बी लेभलको सदस्यता प्रदान गरेको छ । २०२१ नोभेम्बर ४ मा एएफसी प्रशिक्षक शिक्षा प्यानलले सी र बी लाइसेन्सको कोर्स निर्माणदेखि प्रशिक्षण तथा लाइसेन्स प्रदान गर्नका निम्ति अनुमोदन गरेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।
योसँगै एएफसीको कोचिङ कन्भेन्सन अन्तर्गत बी लाइसेन्सको मान्यता पाउने नेपाल पाँचौ देश बनेको छ । यसअघि भारत, बंगलादेश, भुटान र माल्दिभ्सले बी श्रेणीको मान्यता प्राप्त गरेका थिए।
शेर्पाका अनुसार एएफसीको यो निर्णयले एन्फलाई बी र सी लेभलको कोचिङ डिप्लोमा पाठ्यक्रमहरू आयोजना गर्ने र कोचिङ कन्भेन्सनका प्रचलित शर्तहरू बमोजिम सम्बन्धित एएफसी डिप्लोमा र लाइसेन्स जारी गर्ने अधिकार प्रदान भएको छ।
यसअघि लामो समय फुटबलमा लागेका र अंग्रेजी भाषामा समस्या भएका खेलाडीले कोर्स पूरा गर्न समस्या भोग्दै आएकन थिए। यद्यपि, एन्फालाई उक्त अधिकार प्राप्त भएसँगै नेपाली भाषामा बी लाइसेन्ससम्मको कोर्स गर्न पाइने छ।
प्रकाशित मितिः २०७८ कार्तिक २४ बुधबार
Comments