काठमाडौं । पाकिस्तान आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेट २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको सुपर १२ को खेलमा नामिबियामाथि ४५ रनको जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो ।
सेख जायद स्टेडियम अबुधाबीमा पाकिस्तानले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४४ रनमात्र बनाउन सक्यो ।
नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८९ रन बनाएको थियो । पाकिस्तानी ओपनरद्वय मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहे ।
यस्तै, कप्तान बाबर आजमले ७० रनको योगदान दिए भने मोहम्मद हफिज पनि ३२ रनमा अविजित रहे ।
यससँगै पाकिस्तानले लगातार चौथो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । पाकिस्तानको यो पाँचौ पटकको सेमिफाइनल यात्रा हो । पाकिस्तानले २००९ को विश्वकप फाइनलमा श्रीलङ्कालाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।
टी(ट्वान्टी विश्वकपमा आज दुई महत्त्वपूर्ण खेल हुँदै छन् । पहिलो खेल न्युजिल्यान्ड र स्कटल्यान्डले ३स्४५ बजे खेल्दै छन् भने दोस्रो खेल भारत र अफगनिस्तानले साँझ ७स्४५ बजे प्रतिस्पर्धा गर्दैछन् । आजको खेलले भारतको विश्वकप यात्राको अगाडिको बाटो टुङ्गो लगाउनेछ । एजेन्सी
प्रकाशित मितिः २०७८ कार्तिक १७ बुधबार
Comments