काठमाडौं । यूएई र ओमानले संयुक्त रुपमा आयोजना गर्न लागेको आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको विजेताले १६ लाख अमेरिकी डलर (करिब साढे १८ करोड रुपैयाँ) पुरस्कार पाउने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो। यस्तै, उपविजेताले आठ लाख अमेरिकी डलर (करिब नौ करोड २० लाख रुपैयाँ)पाउने भएको छ। सेमिफाइनल पुग्ने टोलीले चार लाख अमेरिकी डलर पाउने छन्।
टी-२० विश्वकप यूएई र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म आयोजना हुँदै छ। विश्वकपमा १६ टिमको सहभागिता रहनेछ। यसपटकको विश्वकपमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) अर्थात् निर्णय समीक्षा प्रणाली प्रयोग गरिने जनाइएको छ। प्रतियोगितामा प्रत्येक टोलीले प्रत्येक इनिङ्समा दुईवटा रिभ्यू पाउने बताइएको छ।
यस्तै, ढिलो हुने या वर्षाले प्रभावित हुने खेलका लागि ओभरको संख्यासमेत बढाउने निर्णय गरिएको छ।डकवर्थ लेविस अर्थात् ‘डीएल’ प्रणालीअनुसार खेलको नतिजाका लागि समूह चरणमा प्रत्येक टोलीले कम्तीमा पाँच ओभर ब्याटिङ गर्नुपर्ने जनाइएको छ।
तर, सेमिफाइनल र फाइनलमा भने खेलको नतिजाका लागि एउटा टिमले कम्तीमा १० ओभर ब्याटिङ गर्नुपर्ने आईसीसीले जनाएको छ।
प्रकाशित मितिः २०७८ असोज २४ आइतबार
Comments