काठमाडौं । भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभनेविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।टियु मैदानमा भैरहवा कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भैरहवाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन ।
काठमाडौंले टोलीमा तीन परिवर्तन गरेको छ । कर्णालीका तीव्र गतिका बलर दीनेश अधिकारीले इपिएलमा डेब्यू गरेका छन् । त्यस्तै शेर मल्ल टोलीमा फर्किएका छन् । अफगानिस्तानका विकेटकिपर ब्याटर रहमानउल्लाह गुरबाजको स्थानमा जनक प्रकाशलाई खेलाएको छ ।
गुरबाज राष्ट्रिय टोलीको ड्युटीको कारण अफगानिस्तान स्वदेश फर्किएका छन् । पहिलो खेलबाट सुबास खकुरेल, मोहम्मद साम्सद शेख र गुरबाजलाई बेन्चमा राखेको छ । दीनेश, शेर र जनकलाई मौका दिएको हो ।
यस खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग खेल्नेछ । चितवनले पहिलो पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । फाइनल शनिबार हुनेछ ।
प्रकाशित मितिः २०७८ असोज २० बुधबार
Comments