काठमाडौं । चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायरमा पोखरा राइनोजको सामना गर्ने भएको छ । ईपीएलको राउन्ड रोबिन लिगपश्चात शीर्ष दुई टोली फाइनल प्रवेशका लागि क्वालिफायरमा खेल्ने प्रावधान अनुरुप बुधबार बिहानको खेलमा चितवन र पोखरा भिड्न लागेका हुन् ।
भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स बीच ११ मंगलबारको खेल टस पनि हुन नपाई रद्द भएपछि सबै समीकरण तयार भएको थियो । यी दुई टोली नै बुधबार हुने दोस्रो खेलमा इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।
चितवन पहिलो चार खेल जितेर क्वालिफायरमा सुरक्षित भइसकेको थियो । मंगलबारको नतिजा एक अंक जोडेको भैरहवाको पोखरासँगै समान ७ अंक भएको थियो । तर सर्वाधिक खेल जितेको हिसाबमा पोखराले भैरहवालाई उछिन्दै दोस्रो स्थान हात पारी क्वालिफायरमा पुगेको हो । पोखराको ३ खेलको तुलनामा भैरहवाले दुई खेल मात्र जितेको थियो ।
भैरहवासँगको खेल नभएपछि १ अंक पाएको काठमाडौं किंग्स प्लेअफमा पुग्ने चौथो तथा अन्तिम टोली बन्यो । काठमाडौं किंग्स र ललितपुर प्याट्रियट्सको समान ३ अंक भए पनि काठमाडौं किंग्स राम्रो रन रेटका कारण अगाडि रहयो ।
प्रकाशित मितिः २०७८ असोज १९ मंगलबार
Comments