काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।
ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै रित गौतमले १२ रन बनाए । साहन अराचिगे १ रनमा अविजित रहे ।
ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो । वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको थियो ।
जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ । पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।
ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग पराजित भएको थियो । अंकविहीन ललितपुर पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७८ असोज १३ बुधबार
Comments