काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान विराज महर्जनले च्यासल युथ क्लबबाट आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । ललितपुरको क्लब च्यासलले मंगलबार पत्रकार सम्मेलनमार्फत विराजलाई अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारीसमेत दिएको जानकारी गराएको हो ।
१४ टोलीको सहभागिता रहने ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ । उनले अघिल्लो पटकको लिग साविक विजेता मछिन्द्र क्लबबाट खेलेका थिए ।
अनुभवी डिफेन्डर विराजले यसअघि न्यु रोड टिम (एनआरटी), थ्रीस्टार, संकटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् । विराजको कप्तानीमा मनाङ र मछिन्द्रले ‘ए’ डिभिजन लिग जितेको थियो । उनले खेलाडीका रूपमा थ्री स्टारबाट पनि लिग उपाधि जितेका थिए ।
विराजले गएको चैतमा घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए ।
थ्री नेसन्सको उपाधि नेपालले जितेको थियो । ३० वर्षीय विराजले देशका लागि ७३ खेल खेल्दै १ गोल गरेका छन् । उनको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप, सोलिडारिटी कप र १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जितेको थियो ।
प्रकाशित मितिः २०७८ असोज ११ मंगलबार
Comments